काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै निरन्तर सक्रिय रहँदै आएका बहुप्रतिभाशाली गायक तथा सर्जक युवराज छन्त्यालको नयाँ सांगीतिक कोसेली ‘पैसा’ सार्वजनिक भएको छ। बागलुङको माटोमा
जन्मिएर हाल कतारलाई मुख्य कर्मथलो बनाउँदै आएका छन्त्यालले रोजगारीको सिलसिलामा परदेशमा रहेर पनि नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय बजारीकरण र उत्थानमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
थुप्रै राष्ट्रिय अवार्डहरू जितिसकेका छन्त्याल नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक स्थापित र सशक्त नाम हुन्। विश्वका विभिन्न मुलुकहरूको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्नो मौलिक भाका र कला पस्किसकेका छन्त्यालले नेपाली लोकसंस्कृतिलाई विश्वस्तरमै चिनाउन निरन्तर सेतुको भूमिका निर्वाह गरिरहेका छन्।
यसै क्रममा उनले वर्तमान समाजको यथार्थ, मानवीय सम्बन्ध र पैसा वरिपरि घुम्ने जीवनशैलीलाई विषयवस्तु बनाएर तयार पारेको नयाँ लोक भाका ‘पैसा’ औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
गीतमा गायक युवराज छन्त्याल र गायिका अन्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं युवराज छन्त्यालकै रहेको छ, जसले उनको बहुआयामिक सिर्जनशीलतालाई पुनः प्रमाणित गर्छ।
गीतको संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ याम थापा मगरले गरेका हुन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा रमेश खड्काको रेकर्डिङ रहेको छ। गीतको भाका कर्णप्रिय हुनुका साथै शब्दहरूले वर्तमान समयमा पैसाको महत्त्व र यसले समाजमा पारेको प्रभावलाई सटिक रूपमा चित्रण गरेका छन्।
अडियो जस्तै गीतको भिडियो पक्ष पनि निकै सशक्त र कथा प्रधान बनेको छ। शिवन पोखरेलको कथा तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ सहित कलाकारहरूको जम्बो टोलीको जीवन्त अभिनय देख्न सकिन्छ।
भिडियोमा शेरबहादुर डिसी, शिवन पोखरेल, गोपाल ढकाल (छन्दे), भावना गुरुङ, विश्वराम मकाजु, रेनुका श्रेष्ठ, नारायण देवकोटा, सरु दंगाल, रूपक रामतेल र भीम केसीको दमदार अभिनय रहेको छ।
सुदीप मैनालीको छायांकन र ईश्वर बल्लभ उप्रेतीको डीओपी (DOP) रहेको भिडियोलाई नीरजन केसीले सम्पादन तथा रंग संयोजन गरेका छन्। भिडियोमा कविता तोलाङ्गीको मेकअप रहेको छ।
नेपाली समाजको यथार्थ धरातल, मौलिक भाका र उत्कृष्ट दृश्य संयोजनले भरिपूर्ण यो गीत ‘युवराज छन्त्याल’को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ। आफ्ना अघिल्ला सिर्जनाहरूजस्तै यस गीतलाई पनि दर्शक तथा श्रोताले माया र साथ दिनेमा गायक छन्त्याल विश्वस्त रहेका छन्।
