मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सकिएको छ । बर्खामा बाढीले क्षति गरेको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भैरहेको छ ।
बाढीले सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको मुहानस्थलमा क्षति गरेपछि मेलम्चीको पानी आउन सकेको छैन । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार अब गर्नुपर्ने बाँकी काम केही कठिन छ । तर अबको १० दिनभित्र सक्ने गरी काम भैरहेको इञ्जिनियर कुँवरले जानकारी दिएका छन् । अहिले ४५ जना कामदारले काम गरिरहेका छन् ।
बाढीले हेडवर्क्सको संरचनालाई क्षति गरेपछि सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भैरहेको छ । बाँकी ३० प्रतिशत काम अबको १० दिनमा सकिए माघको पहिलो हप्ताभित्र काठमाडौंमा अस्थायीरुपमा पानी आइपुग्नेछ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा मेलम्चीको पानी काठमाडौंमा निरन्तर झार्ने गरी काम भइरहेको बताएका छन् ।