काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण आफ्नो घर, परिवार तथा वर्षौंको सपना गुमाएका पीडितहरूको दुःखलाई समेट्दै गायक चेतबहादुर बुढाथोकीले हृदयविदारक गीत ‘बगायो मेरो त सपनाको घर’ सार्वजनिक गरेका छन्। गायक बुढाथोकीकै स्वर, शब्द तथा संगीत रहेको यस गीत बाढीपीडितप्रति समर्पित गरिएको छ। प्राकृतिक विपत्तिका कारण क्षणभरमै मानिसका सपना, मेहनत र आश्रय बगेर जाँदाको पीडालाई अत्यन्त मार्मिक शब्द तथा संगीतमार्फत गीतमा प्रस्तुत गरिएको छ।
‘बगायो मेरो त सपनाको घर’ शीर्षकले नै विपत्तिले मानिसको जीवनमा पुर्याएको क्षतिको गहिरो अनुभूति बोकेको छ। प्रकृतिमाथि मानिसले जतिसुकै भरोसा गरे पनि प्राकृतिक विपत्तिका अगाडि त्यो भरोसा कहिलेकाहीँ क्षणभरमै टुट्न सक्ने भाव गीतमा व्यक्त गरिएको छ।
‘के हुने रहेछ र प्रकृतिको भर, ठेगानामा प्रकृतिको केही भर हुने रहेनछ’ भन्ने भावमार्फत गायकले प्रकृतिको अनिश्चितता र त्यसले निम्त्याउने पीडालाई गीतमा उतारेका छन्। वर्षौं लगाएर बनाएको सपनाको घर प्रकृतिको प्रकोपले बगाउँदा बाँकी रहने पीडा, दुःख र निराशालाई गीतले संवेदनशील रूपमा प्रस्तुत गरेको छ।गीतको भिडियोमा पनि गायक बुढाथोकी स्वयंले अभिनय गरेका छन्। रेकर्डिङ स्टुडियोमै गीत गाउँदै गर्दा पीडा अनुभूति गरिरहेको भावमा उनलाई प्रस्तुत गरिएको छ। गीतका शब्द र भावसँगै आफूलाई जोडेर उनले व्यक्त गरेको पीडा भिडियोमा निकै मार्मिक देखिन्छ। गीतमा एरेन्ज तथा मिक्सिङ दिनेशलाल राजबाहकले गरेका छन्।
