६ साउन, काठमाडौं । नारायणहिटी संग्रहालयको पश्चिम गेट छेउको सडकपेटीमा सोमबार साँझ ८ बजे एक हुल युवा गफ गरिरहेका थिए । न उज्यालो छ न बस्न वा अढेस लाग्न सिकिने ठाउँ, ती युवा यहीँ रात कटाउन उभिएका थिए ।
९ बजे ३१, १० बजे ४१, ११ बजे ५६, मध्यरात १२ बजे ७१, एक बजे ८०, २ बजे १२० हुँदै विहान ४ नबज्दै त्यहाँ लाइन लाग्नेको संख्या २०० नाघ्यो । गोरखाको मनकामनाबाट आएका भक्तबहादुर ल्वाङ्गी मगरले मोवाइल फोन बाल्दै बेलुकैदेखि क्रमशः आउनेहरुको नाम टिपेका थिए ।
नाम टिपाएकाहरु पालो मिचिने डरले रातभर लाइनमा डटेर बसेका थिए । भक्तबहादुर तेस्रो पटक आएर साँझबाटै लाइनको लागि नाम टिप्न खटिएका थिए ।
‘श्रीमती चितवनको म गोरखाको, दुवै जिल्लामा पालो पाइने ठेगान भएन’, उनले भने, ‘यहाँ अस्ती विहान ६ बजे र हिजो विहान ४ बजे आउँदा कोटा प्याक भइसकेछ, पालो पाइएन । अनि बेलुका आठै बजे आएको ।’
राहदानी बनाउन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछिको हैरानी हो, यो । भक्तबहादुरको कापीमा नाम टिपाएर सडक पेटीको लाइनमा छिन्, बाँके नेपालगञ्ज उपमहानगरपालिका– ५ सल्यानी बंगलाकी पूजा खत्री पनि ।
बहिनीसंग राति १० बजे नै आएकी उनी फतक्क गलेर पेटीमै थचक्क बसेकी छन् । खत्री दिदीबहिनीसंग बसेकी छन्, महोत्तरीबाट आएकी राधिका दुलाल । राति पौने ९ बजे ट्याक्सीबाट आएर लाइनमा नाम लेखाएकी उनी भुईंमा चप्पल ओछ्याएर टुसुक्क बसेकी छन् ।
डालोमा चाउचाउ, बिस्कुट, पराग, चुरोट, पानीको कार्टुन र तीन वटा थर्मश बोकेर आधा रातमा सामाखुसीबाट आएका अमृत खड्का दम्पती ब्यापारसंगै सल्लाह–सुझाव दिन पनि भ्याइरहेका थिए ।
‘ढुक्कसंग लाइनमा बसौं, बिहान ६ बजे भित्र छिराउँछन् । परिचयपत्र बनाउने १० बजे कार्यालय खुलेपछि मात्र हो’, खड्काले भने, ‘काम सकिन दिनभरि नै लाग्न सक्छ ।’
हिजोदेखि लाइनमा उभिएर/बसेर निद्राविरुद्ध संघर्ष गरिरहेकाहरु खड्काको कुरा सुनेर निराश बने । सडक पेटीको बार र रुखको फेदमा अडेसिन वा भुइँमा अलि होलोसंग बस्न पाएकाहरु त निदाइ नै रहेका छन् ।
बिजोग गरी उभिएकाहरु पेटीमै ढल्न थालेपछि खड्का आफ्नो डालो भएको ठाउँबाट उठे अनि नारायणहीटीको गेटको कतैबाट केही कार्टुन र स–साना चकटीजस्ता म्याट्रेसहरु झिकेर ल्याए ।
१० जना महिलालाई त्यो बाँड्दै उनले भने, ‘ल यो त बिजोग भयो, अलि राम्ररी बस्नुस् । बिहान भित्र जाने बेलामा फिर्ता गर्नुस्, पर्सि अरुलाई चाहिन्छ ।’
खड्काको सदासयबाट मिलेको अलिकति सहजता धेरैबेर टिकेन, मौसम प्रतिकुल बनिदियो, पानी पर्न थाल्यो । सानो बत्ती धिपधिप बलिरहेको डालो जोगाउन खड्का दम्पतीले प्लाप्टिकको जोहो गरे । लाइनमा बसेकाहरु खैलाबैला गर्दै १५–२० वटा छातामा टाउको लुकाउन पुगे ।