23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeराजनीतिनयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले राजनीति गर्ने होइन, विकास गर्ने हो,’ २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुनुअघि बालेन शाहले भनेका थिए ।
उनी निकटस्थहरूका अनुसार बालेनको प्रधानमन्त्री बन्ने र पार्टीमा आवद्ध हुने सोच पहिले थिएन । स्वतन्त्र भएर काठमाडौं महानगरको विकास गर्ने योजना थियो ।

तर, परिस्थितिले ३६ वर्षीय बालेनलाई नेता बनायो, पार्टीमा आवद्ध गरायो र प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍यायो । शुक्रबार प्रधानमन्त्री नियुक्त भएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथसमेत खुवाइसकेका छन् ।

बालेन २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित भएका थिए ।

रास्वपाका वरिष्ठ नेता बालेनले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरे । प्रधानमन्त्री बन्न प्रधानमन्त्रीकै उम्मेदवार हराउनुपर्ने भन्दै उनले झापा–५ रोजेका थिए ।

६८ हजार ३४८ मतसहित उनी विजयी हुँदा एमालेका अध्यक्ष केपी ओली आफ्नै गृहक्षेत्रमा १८ हजार ७३४ मतमा खुम्चिए । ६ पटक झापाबाट निर्वाचित भएर चार पटक प्रधानमन्त्री बनेका ओलीको किल्ला भत्काएर बालेन सिंहदरबार छिरेका हुन् ।

उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा होमिएका थिए । पुराना दल र नेताहरूलाई किनारा लगाउँदै नेपाली राजनीतिमा बालेन युगको उदय भयो । छोटो समयमा उनी कसरी शक्तिशाली भए ? को हुन् बालेन ? चर्चा गर्ने छौँ ।

र्यापर, कवि इन्जिनियर

राजनीतिमा प्रवेश गर्नुअघि बालेन कवि, र्‍यापर र स्ट्रक्चरल इन्जिनियर थिए । उनी सामाजिक न्यायका विषयमा कविता लेख्थे । र्‍याप गीतबाट सामाजिक मुद्दा उठाउँथे । कविता र र्‍यापबाट समाजमा केही गरौं भन्ने सन्देश दिन्थे । र्‍यापमा समाज र सडक बालबालिकाका पक्षमा आवाज उठाउँथे । उनको र्‍यापमा परिवर्तन, आक्रोश र देशको चित्र हुन्थ्यो ।

र्‍यापरबाट युवापुस्ता माझ लोकप्रिय थिए उनी । बेथिति र दलहरूका गलत कामको गीतबाटै प्रतिवाद गर्थे । ‘युवाले राजनीति बुझ्नुपर्छ । संविधान पढ्नुपर्छ । कानुन जान्नुपर्छ,’ बालेन भन्थे । उनी आमा-बुबाबाट असल बन्ने प्रेरणा पाएको बताउँदै आएका छन् ।

पहिलेदेखि नै बालेनमा राजनीतिक चेत थियो तर राजनीति गर्छु भनेर सोचेका थिएनन् ।

‘राजनीतिमा ऊ पहिलेदेखि थिएन । हामीसँग कुरा गरेको पनि थिएन । तर सानैदेखि ज्ञानी थियो,’ बालेनकी दिदी सुजाता शाहले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘मनको दुःख बाँड्न चाहँदैनथ्यो । ऊ समस्याको समाधान लिएर आउँथ्यो ।’ बालेनले राजनीतिबारे परिवारमा पनि कहिल्यै कुरा गरेनन् ।

संविधान निर्माणताकाको कुरा हो । बालेन सडकमा प्ले कार्ड बोकेर निस्कन्थे । बसन्तपुर दरबार स्क्वायर, पुतलीसडक र बानेश्वरमा उनी संविधान जारी गर्न माग राख्दै सडकमा आएका थिए ।

 

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

२०७२ मा भूकम्पपछि उनले स्ट्रकचरल इन्जिनियरिङ अध्ययन गरेका हुन् । यसअघि उनी  सिभिल इन्जियनियरका रूपमा काम गर्थे । भूकम्प गएको समयमा उनी दिदीलाई छोड्न भारत गएका थिए । त्यही बेला उतैबाट स्नातकोत्तर तहको स्ट्रक्चरल इन्जिनियरिङको अध्ययन गर्ने निर्णय लिए ।

बालेनको प्रधानमन्त्री बन्ने र पार्टीमा आवद्ध हुने सोच नै थिएन । तर परिस्थितिले ३६ वर्षीय बालेनलाई नेता बनायो, पार्टीमा आवद्ध गरायो र प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍यायो ।

नेपाल फर्किएर भूकम्पपछिको पुनर्निर्माणमा खटिए । यही दौरान नेपालका ६५ जिल्लामा पुगे । स्वास्थ्य चौकी, विद्यालय भवनलगायत अन्य संरचना बनाउन योगदान दिए । गाउँगाउँ, बस्तीबस्ती पुग्दा देशमा विकास कसरी भइरहेको छ भन्नेबारे नजिकबाट बुझ्ने अवसर पाए ।

यहीबीचमा उनले भक्तपुर बनेको देखे । ललितपुर राम्रो भएको देखे । तर काठमाडौं किन बनेन ? बालेनले काठमाडौं नबन्नुको अध्ययन गरे । पुनर्निर्माणको दौडानमा उनले धेरै काम स्थानीय सरकारले गर्नसक्ने मेसो पाए ।

इन्जिनियर भएर उनी संरचना बनाउँथे । सामाजिक विषयमा र्‍यापबाट प्रस्तुत हुन्थे । यी सबैलाई जोडेर काठमाडौं महानगरको मेयर भएर काम गर्ने हो भने शहरको विकास गर्न सकिने निचोड बालेनले निकाले ।

अनि काठमाडौं महानगरको मेयर बने ३०-४० वर्षको ऊर्जाशील समयमा नै केही गर्नुपर्छ भन्ने मनस्थितिमा थिए, बालेन । भूकम्पपछि ६५ जिल्ला पुगेपछि उनको मन र मस्तिष्कले मेयरको सपना देख्यो । सातै प्रदेश घुमेपछि विकास गर्न उपयुक्त पद मेयर नै लाग्यो । ‘विकासोन्मुख देशमा चाहिएको उपयुक्त पद नै मेयर हो,’ बालेनले २०७९ को चुनावी प्रचार–प्रसारको क्रममा भनेका थिए ।

२०७४ कै स्थानीय तह निर्वाचनमा उनले काठमाडौं महानगरको मेयर उठ्ने योजना बनाएका थिए । तर गृहकार्य नपुगेकाले ब्याक भए । र, मिसन २०७९ को तयारीमा लागे । सोहीअनुसार उनले २०७४–२०७९ सम्म काठमाडौं महानगरबारे थप अध्ययन गरे ।

चुनावअघि नै महानगरवासीदेखि युवा पुस्ता, सामाजिक छवि भएका, अभियान्तासम्मलाई भेटेर उनले आफ्नो एजेन्डाबारे विमर्श गरे । सम्पदा संस्कृति जोगाउने, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारका एजेन्डा तय गरे ।

महानगर भित्र कहाँ, कस्तो विकास आवश्यक छ त्यसको खाका उनले चुनावअघि नै तयार पारे । बालेनले समस्या पहिचान मात्र होइन समाधानको उपाय पनि निकालेका थिए ।

राजनीतिक गुरु नरसिंह व्यञ्जनकार

बालेन आफ्नो राजनीतिक गुरु स्व. नरसिंह व्यञ्जनकारलाई मान्छन् । काठमाडौंको मेयरमा उठ्ने भएपछि उनले ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म स्वतन्त्र वडाअध्यक्ष जितेका नरसिंह व्यञ्जनकारसँग राय-सुझाव लिए । गुरुकै शैली बालेनले पछ्याए ।

अन्ततः उनले पनि २०७९ वैशाख ३० मा हुने चुनावको लागि स्वतन्त्र उम्मेदवारी दिए । उम्मेदवारी दिएपछि उनको घरदैलो र प्रचार प्रसारको शैलीले धेरैको ध्यान खिच्यो ।

बालेन लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए । २०७४ देखि तयारी गरेका उनी २०७९ आइपुग्नुअघि नै धेरै बस्तीमा पुगिसकेका थिए ।

उनी तथ्यांक संकलन गरेर चुनावी क्याम्पेनमा होमिएका थिए । सामाजिक सञ्जाललाई चुनावी प्रचारको शक्तिशाली बनाए । र, काठमाडौं महानगरमा स्वतन्त्र रूपमा निर्वाचित भएर बालेनले इतिहास रचे । उनले महानगरमा ६१ हजार ७६७ मत ल्याएका थिए ।

प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याउँदा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए । पुराना दलका उम्मेदवारलाई पराजित गरेर उनी थप चर्चाको केन्द्रमा रहे । शक्तिशाली मेयरको रूपमा बालेनको उदय भयो ।

संघ सरकारमहानगर टसल

काठमाडौं महानगरमा निर्वाचित भएपछि बालेन दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरूसँग मिलेर काम गर्न चाहन्थे । त्यसैले एमालेसँग राम्रो सम्बन्ध बनाउन चाहन्थे । उपमेयर एमालेबाट र अधिकांश वडाध्यक्ष, सदस्य एमाले-कांग्रेसका थिए ।

बालेन माथिबाट नै सम्बन्ध राम्रो बनाउन लागिपरे । एमाले अध्यक्ष केपी ओलीसँग उनले दुई पटक भेट गरे । एमाले नेता महेश बस्नेतको घरमा समेत गए । तर वातावरण सहज बनेन । अल्फा हाउस पार्किङ, पुरानो बसपार्कको टावरको नक्सा, प्रमुख प्रशासकीय अधिकृतको विवादमा एमाले जोडियो ।

संघ सरकारबाट सहयोग नपाएको आनुभूति बालेनले गरे । ‘मेयर भएपछि संघीय सरकारबाट असहयोग भयो । बाधा पुर्‍याउने र अड्काउने काम भयो । स्वतन्त्र भएर काम गर्न पाउनु भएन,’ तत्कालीन मेयर बालेनका सल्लाहकार सस्मित पोखरेल भन्छन् ।

महानगरमा ५ वर्षका लागि अनुमोदन भएको थिए बालेन । ५ वर्षमा नतिजा देखिँदैन, अर्को कार्यकाल पनि महानगरमै बसेर काम गर्ने सोच उनको थियो । काम गरेपछि नतिजा आउन कम्तीमा १० वर्ष लाग्छ भन्ने निचोड उनको थियो ।

‘इन्जिनियर भएका कारण मेयर बन्नुभएको थियो । बरु दुई कार्यकाल काम गरेर काठमडौं शहर नै बनाउने योजना उहाँको थियो,’ पोखरेलले भने, ‘महानगरमा अरू पार्टी र संघ सरकारबाट सहयोग भएको भए दुई पटक मेयर भएर बस्ने सोच थियो ।’ महानगरमा कार्यकाल सुरु भएदेखि नै बालेनको संघ सरकारसँग टसल परिरह्यो ।

जेनजी आन्दोलनले राजनीतिमा मोडिए

बालेन तत्कालै संसदीय राजनीतिमा आउने मनस्थितिमा थिएनन् । पार्टीमा आवद्ध हुने र प्रधानमन्त्री बन्ने उनको योजना पनि थिएन । ‘सुरुदेखि नै पार्टी खोल्ने, प्रधानमन्त्री हुने भन्ने उहाँमा थिएन,’ पोखरेलले भने ।

तर, गत भदौ २३–२४ मा जेनजी आन्दोलन भयो । तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्यो । संसद् भंग भयो । प्रधानमन्त्रीमा युवा पुस्ताले बालेनलाई खोजे । तर उनी त्यसबेला प्रधानमन्त्री हुन चाहेनन् । जेनजी आन्दोलनपछि मात्र उनले राजनीतिमा आउनेबारे छलफल अगाडि बढाएका हुन् ।

‘जेनजी आन्दोलनलगत्तै बालेन प्रधानमन्त्री हुनुपर्‍यो भनिएको हो । कुनै न कुनै किसिमले आउनु पर्‍यो भनेर मतदाताले पनि भन्नुभयो,’ पोखरेलले भने, ‘उहाँले जेनजी आन्दोलनपछि राजनीतिमा आउने निर्णय लिनु भएको हो ।’

अनि राजनीतिमा सक्रिय भए

जेनजी आन्दोलनको म्यान्डेटअनुसार दल र सरकार चलोस् भन्ने बालेन चाहन्थे । तर पुराना दलहरूले आन्दोलनको म्यान्डेट बोक्न नचाहेको महसुस उनले गरे । त्यसपछि कुलमान घिसिङको नेतृत्वको पार्टीलाई सहयोग गर्ने मनस्थितिमा पुगे ।

त्यहीअनुसार कुलमानसँग छलफल पनि चल्यो । तर कुलमान सरकारमा गए । जेनजी आन्दोलन र युवाको माग कमजोर हुने स्थिति बन्यो । बालेन टिमका मुख्य सदस्य कुमार बेनले रास्वपा सभापति रवि लामिछानेलाई जेलमै गएर भेटे । तर निचोड निस्केन ।

पूर्व विवेकशील, जेनजी आन्दोलनका सबै अगुवा मिलेर पर्टी खोल्ने विषयमा छलफल पनि भयो । तर सफल भएन ।

अर्कोतर्फ, जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । यो सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु थियो । कतै चुनाव सर्छ कि भन्नेमा डर थियो । देशलाई सही ट्र्याकमा ल्याउन चुनाव गर्नैपर्ने निष्कर्षमा बालेन थिए ।

फेरि बालेनको टिमले रास्वपा नेता डीपी अर्याल लगायतका नेतासँग छलफल गर्‍यो । पुकार बमको नेतृत्वमा समिति बन्यो । त्यो समितिसँग बालेन समूहको छलफल भयो । पछि स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिसँग पनि छलफल भयो । रवि लामिछाने जेलबाट निस्के । नयाँ दल र समूह मिलेर जानुपर्छ भन्ने आवाज आयो । बलेन–रवि भेट असीम साहको घरमा भयो ।

त्यहीबीचमा बालेनका बुवाको निधन भयो । शोकमा भएको बेला भेट्न आएका शुभेच्छुकले अगाडि बढ्न बालेनलाई सुझाव दिए । उनकै नेतृत्वमा पार्टी खोल्ने छलफल पनि चलेको थियो । बालेनले पनि ज्वागलबाट म्याराथन भेटवार्ता गरे । एकै दिन ३०–४० जना नेतादेखि सामाजिक छवि भएकासम्मलाई भेटे ।

तर, नयाँ दल खोल्दा रास्वपासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो । नयाँ एकै ठाउँमा नभए जेनजी आन्दोलनले न्याय नपाउने निष्कर्ष निकालेपछि बालेन रास्वपासँग एकता गर्न तयार भए । र, उनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको लागि अगाडि सारियो ।

बालेनले कुलमानलाई पनि साथै लैजान खोजे । मिल्ने सहमति पनि भयो तर त्यो सहमति १२ दिन पनि टिकेन । पार्टीको नामदेखि पदसम्म कुरा मिलेन । बालेन रास्वपातिर लागे ।

ओली हराएबालेन प्रधानमन्त्री बने

भावी प्रधानमन्त्रीको रूपमा घोषणा भएपछि बालेनले झापा–५ बाट उठ्ने निर्णय लिए । बालेनलाई आफ्नै समूहका साथीहरूले झापा–५ नरोज्न भनेका थिए । तर उनले झापा रोज्नुको कारण एमाले अध्यक्ष ओली फ्याक्टर थियो ।

‘प्रधानमन्त्री बन्न प्रधानमन्त्रीको उम्मेदवारलाई नै पराजित गर्नुपर्छ भन्ने उहाँको बुझाइ हो । त्यसैले झापा नै रोजेको हो,’ बालेन निकट एक नेताले भने, ‘जेनजी आन्दोलन हुँदा ओली सरकार प्रमुख हुनुहुन्थ्यो । बच्चा मर्दा क्षमा माग्नु भएन । उल्टै पार्टीबाट अनुमोदन भएर पो आउनुभयो ।’

ओलीलाई नै हराएर प्रधानमन्त्री बन्ने लक्ष्यतर्फ बालेन अगाडि बढे । ‘ओलीलाई देशको नेता मान्ने कि नमान्ने ? बालेनलाई जनताले चाहेको हो कि होइन ? यो चुनावबाटै टेस्ट गर्न चाहेका थियौं । यही प्रश्न लिएर झापा–५ छिरेका थियौं,’ उनी निकट एक नेताले भने ।सांसद कसलाई बनाउने मात्र होइन, प्रधानमन्त्री नै कसलाई बनाउने भन्ने प्रश्न थियो । ‘कसलाई प्रधानमन्त्री स्वीकार गर्ने भनेर झापा आएको हो । कसलाई जिम्मेवारी दिने ?, नदिने ? यो प्रश्नमा मतदान भएको हो,’ ती सदस्यले भने ।

चुनावी अभियानमा बालेनले ठूला भाषण गरेनन् । सबैभन्दा धेरै जनकपुरमा ९ मिनेट जति बोले । यो उनको चुनावी अभियानको सबैभन्दा ठूलो भाषण हो । उनी ७७ जिल्ला नै पुग्ने योजनामा थिए । तर आफ्नै स्वास्थ्य र चलचित्र पत्रकार दिनेश सिटौलाको मृत्युले प्रभावित भयो ।

बालेनले चुनावमा धेरै नबोल्ने रणनीति नै बनाएका थिए । धेरै बोल्यो भने बिग्रन्छ भन्नेमा बालेन टिम सचेत थियो । अरू उम्मेदवारले भड्काउने अभिव्यक्ति दिँदा पनि बालेन मौन बसे । अन्ततः झापा–५ का जनताले बालेनलाई जिताए । रास्वपाबाट दुई तिहाइ नजिक १८२ सिट ल्याएर बालेन प्रधानमन्त्री बने ।

‘जनताले ठूलो जिम्मेवारी दिनुभएको छ । दुई तिहाइ नजिकको जनादेश पाएका छौँ,’ महानगरमा बालेनको सचिवालयमा रहेर काम गरेका भुपदेव शाहले भने, उहाँ (बालेन) काममै विश्वास गर्नुहुन्छ । बोल्नेभन्दा काम नै गर्ने हो ।’

 

भर्खरै प्रकाशित

your adv here