काठमाडौं । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको सभापति कोषका अध्यक्ष रमेश पाठकले गर्नुभएको थियो भने दिग्गज संगीतकार राजु सिंह प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

यस अवसरमा प्रमुख अतिथि दिग्गज संगीतकार राजु सिंह अनि अतिथि गीतकार तथा प्राज्ञ पुरु लम्सालले शुभकामनाको साथसाथै यस सस्थाले नेपाली संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सकोस् भन्नुभयो । सभापति रमेश पाठकसँगै कोषका पदाधिकारी गायक रामकृष्ण श्रेष्ठ, संगीतकार विनोद पछाई र गायक चेतन राई लगाएतले कोषको गतिविधि सम्बन्धी जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरु कोरियोग्राफर/मोडल कृष्ण रसाल, निर्देशक टेक छिरिङ लामा, नृत्य निर्देशक पारस अधिकारी लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार कार्यक्रममा नेपाली कला, संगीत, संस्कृति र पर्वलाई आपसमा जोड्ने सन्देश दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले कलाकारहरूको मनोबल वृद्धि गर्नुका साथै सांस्कृतिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
