पर्सि बुधवार देशभरका पहाडी भेगमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने सम्भावना छ ।
आज र भोलि भने देशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो । यसअघि अघिल्लो हप्ता दुई पटक पश्चिमी क्षेत्रसँगै पहाडी भेगका केही ठाउँमा हल्का पानी परेको थियो । तर देशका सबै ठाउँमा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । यसपालिको हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनालीमा सुक्खापन बढेको छ । अझै केही समय देशभर ठूलो पानी पर्न सक्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
यसैबीच, काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री मापन गरिएको छ भने दिउँसोपख अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ ।