23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeअन्तर्वार्तासरकारीस्तरमा नगरेको काम हामीले गरेका छौँ : केसी

सरकारीस्तरमा नगरेको काम हामीले गरेका छौँ : केसी

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

नेपाली नृत्यको क्षेत्रमा सबैभन्दा धेरै रुचाइएको नाममध्ये एक हो जोगेन्द्र केसी । उहाँले यो क्षेत्रमा अभियानकै रूपमा आफूलाई स्थापित गर्नुभएको छ । थुप्रै विद्यालय, कलेज, विभिन्न प्रशिक्षण केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा नृत्य प्रशिक्षकका रूपमा काम गरिरहनुभएको छ उहाँले यतिबेला । केसीले साकेला, झिँझिँया, धिमे, कौडा, देउडा, गौरा, झर्रा, हुड्केली, कुमारी, मञ्जुश्री, लाखेजस्ता विभिन्न जाति र समुदायमा प्रचलित लोक तथा शास्त्रीय नृत्य बालबालिकादेखि लिएर प्रोफेसनल रूपमा सिक्न आउने नृत्यका पारखी विद्यार्थीहरू र नेपाली नृत्य सिक्न खोज्ने विदेशीहरूलाई समेत प्रशिक्षित गरिरहनुभएको छ । जसले गर्दा उहाँले नृत्यप्रतिको मोह पैदा गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । केसी देशको संस्कृतिलाई नेपालमा मात्र नभएर विदेशसम्म चिनाउने अभियानमा जुटिरहनुभएको छ । त्यसका लागि उहाँ नेपाल लोक सांस्कृतिक प्रतिष्ठान, नेपाल फोक लोरिक फाउण्डेसन, एभरेस्ट नेपाल कल्चर ग्रुप, इन्टरनेसनल अर्गनाइजेसन अफ फोक आर्ट जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । यिनै संस्थाका माध्यमबाट नेपाली कला र संस्कृतिलाई चिनाउने कार्यक्रम लिएर उहाँ जापान, दुवई, कतार, थाइल्याण्ड, भारत, टर्की, ग्रिस, जर्मन, फ्रान्स, पोल्याण्ड, बेल्जियम, स्पेन, स्विट्जरल्याण्डलगायत दुई दर्जनभन्दा बढी देशमा आफू र आफ्नो संस्थालाई सहभागी बनाएर नेपाल र नेपाली संस्कृतिलाई सांस्कृतिक दूतका रूपमा काम गरेर नेपालको झण्डा विश्वको सांस्कृतिक मेला महोत्सवहरूमा फहराउन सफल भइराख्नुभएको छ । यसरी कला संस्कृतिका माध्यमबाट नेपाललाई विदेशी भूमिसम्म चिनाउन भूमिका खेलेकै कारण उहाँ दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत तथा विभूषित हुनुहुन्छ । हाम्रो कला संस्कृतिलाई विद्यालय हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ भन्नुहुने वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

अहिले के गर्दै हुनुहुन्छ ?
केही समयपछि हुन लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा जुटिराखेकोे छु ।

यो क्षेत्रमा कसरी आइपुग्नुभयो ?
बाल्यकालदेखि नै नृत्यमा मेरो रुचि थियो । त्यसैअनुरूप विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा मेरो सहभागिता हुन्थ्यो । जिल्लास्तरीय नृत्य प्रतियोगितामा सहभागी भइराखिन्थ्यो । पछि उच्च शिक्षा पढ्न काठमाडौं आएपछि पढाइसँगै नृत्य सिक्न थालेँ । यसरी क्रमशः यो क्षेत्रतिर आइपुगेँ ।

तपाईंको बुझाइमा नृत्य के हो ?
शरीरका विभिन्न अंगप्रत्यंगहरूलाई हाउभाउ र चालद्वारा व्यक्त गरी देखाइने सुन्दर कलालाई नृत्य भनिन्छ ।

यो क्षेत्रमा लाग्न प्रेरित गर्ने कोही थिए ?
मेरो प्रतिभा देखेर यो क्षेत्रमा अगाडि बढ्न हौसला र प्रोत्साहन गर्ने अग्रज व्यक्तिहरू धेरै हुनुहुन्छ । मणि थापा, नारायण रायमाझी, कुलमान नेपाली, खिम पण्डित, यादव भण्डारी, टेकराज भारती, प्रेमदेव गिरी जसको सल्लाह, सुझावबाट म यो क्षेत्रमा छु ।

सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
विगतका दिनहरूलाई सम्झँदा बाल्यकालको र सुरुका संघर्षका दिनहरूको याद आउँछ । त्यो बेला प्रायः सांस्कृतिक कार्यक्रम राती हुन्थ्यो । कार्यक्रमको नाम नाटक हुन्थ्यो । नाटकमा प्रहसन, गीत, नृत्य, हास्यव्यंग्य आदि हुन्थ्यो । म सबैजसो कार्यक्रममा भाग लिन्थेँ । अहिलेको जस्तो हल, साउण्ड सिस्टम, लाइट हुँदैनथ्यो । सबै लाइभ कार्यक्रम गरिन्थ्यो । प्रेटोमेक्स र लालटिन बालेर कार्यक्रम गरिन्थ्यो । करिब रातको १२-१ बजेसम्म कार्यक्रम हुन्थ्यो र नृत्य गर्दा वा गीत गाउँदा वाद्यवादन सबै सँगै बसेर लाइभ हुन्थ्यो । अहिलेको जस्तो क्यासेट वा डेग स्पिकर हुँदैनथ्यो । दर्शक दीर्घालाई मन पर्‍यो भने पुरस्कारस्वरूप नगद दिने चलन हुन्थ्यो । मलाई याद छ त्यतिबेला मैले पुरुस्कारस्वरूप दुई हजार ५५१ रुपैयाँ प्राप्त गरेको थिएँ । जुन त्यो बेलाको निकै ठूलो रकम हो । काठमाडौं आइसकेपछि नृत्य सिक्नलाई धेरै नै संघर्ष गरेँ । स्टेज शो गरेको, दिनरात नभनी लामो समयसम्म सुटिङ गरेको हिजो जस्तो लाग्छ ।

अहिले केन्द्रमा रहेको अधिकारलाई स्थानीयमा पुर्‍याए जस्तै हाम्रो कला संस्कृतिलाई पनि विद्यालयस्तर हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ । हाम्रा हराएर जान लागेका वा लोप हुन लागेका कला संस्कृतिको लिपि र अध्ययनको विषय बनाएर संरक्षणका लागि सातवटै प्रदेशमा संगीत, नाट्य, नृत्य विभाग गठन गरी यसको कार्य गर्नुपर्दछ । यस्तै, सबै जाति, धर्म संस्कृति, परम्परालाई नारामा मात्र होइन कि व्यवहार मिलाएर ठूला-ठूला सांस्कृतिक महोत्सव गर्नुपर्छ । हामीकहाँ रहेको फरक-फरक धर्म संस्कृतिलाई हाम्रो सम्पत्ति हो भन्ने अनुभूति राज्यले गर्नुपर्छ ।

तपाईंले सफलता हासिल गरेको काममध्ये कुनै एकलाई सम्झनुपर्दा कुनलाई सम्झनुहुन्छ र किन ?
यस्ता सम्झनलायक धेरै छन् । तर, २०५३ सालमा साधना कला केन्द्रद्वारा आयोजना गरिएको राष्ट्रव्यापी लोकनृत्य प्रतियोगितालाई सम्झन्छु । किनकि त्यो निकै ठूलो प्रतियोगिता थियो । राजा वीरेन्द्रको शुभकामनासहित कार्यक्रम सफलताको सन्देश आउँथ्यो । देशभरिबाट उत्कृष्ट टिमहरू सहभागी हुन्थे । त्यो बेला मैले सिकाएको रोधीघरमा नाचिने नृत्यले सर्वोत्कृष्टसहित प्रथम भई ५० हजार रुपैयाँ जित्न सफल भएका थियौँ । यो मेरो पहिलो जित थियो । त्यसकारण त्यही प्रतियोगिताको नाम लिन्छु ।

लोप हुन लागेको नृत्यलाई विश्वमाझ चिनाउन तपाईंले खेलेको भूमिका केही छ कि ?
लोप हुन लागेका नृत्यहरू धेरै छन् । जस्तै, चाँचर, चण्डालिका, होरियाँ, खुकुरी नृत्य, ट्र्याम्कुली, सतार, झोडा, च्याबरुङ, रोधीघरमा नाचिने नृत्यलगायत अन्य । यी नृत्यहरूलाई हामीले प्राथमिकता दिएर नेपाल तथा विदेशमा प्रदर्शन गर्दै आइराखेका छौँ । जुन नृत्यले विश्वमाझ चर्चा र परिचर्चा हुुनुका साथै ध्यानाकर्षण हुने गर्दछ । यी नाचलाई विशेष प्राथमिकतामा राखेर काम गरिराखेको छु ।

तपाईंले यस क्षेत्रलाई समृद्ध तुल्याउन के-कस्तो योगदान पुर्‍याए जस्तो लाग्छ ?
म यो क्षेत्रमा क्रियाशील भएको तीन दशकभन्दा बढी हुन लाग्यो । कुनै एक जातिले नाच्ने नृत्यमात्र होइन, नेपालमा गरिने हरेक जातजातिहरूको नाचलाई मैले र हाम्रो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सांस्कृतिक महोत्सव, मेलाहरू प्रदर्शन गर्ने, डकुमेन्ट्री बनाएर प्रमोसन गर्ने, बुकलेट बनाएर प्रचारप्रसार गर्ने, विभिन्न बैठक, सेमिनारमा नेपाली संस्कृतिको महत्वलाई बुझाउने, विदेशमा मात्र नभएर म र संलग्न संस्था, लोक सांस्कृतिक प्रतिष्ठान एभरेष्ट कल्चरल ग्रुप, इन्टरनेसनल फोक फेस्टिबलद्वारा सांस्कृतिक टोलीलाई नेपालमा बोलाएर अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव गर्ने लगायतका काम गरेका छौँ । ११औँ अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव गरिसक्यौँ । अब १२औँ अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव अर्को वर्ष गर्दछौँ । सरकारीस्तरमा नगरेको यो काम नेपालमा हामीले मात्र गरेका छौँ ।

यहाँ नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागिरहनुभएको छ । नेपाली कल्चर नृत्य लिएर धेरै देशको भ्रमण गर्नुभयो, यसबारेमा तपाईंको अनुभव के-कस्तो रहृयो ?
हामी हाम्रो कला संस्कृति झल्काउने विभिन्न नेपाली लोकनृत्य लिएर विश्वको सांस्कृतिक बजारमा पुग्छौँ । यसले अन्तर्राष्ट्रियस्तरमा हुने कार्यक्रमको अवलोकन, स्तरोन्नति, कल्चरल एक्सचेन्ज, एकअर्काको अनुभव साटासाट हुन्छ भने विश्वमै लोप हुन लागेको संस्कृतिलाई कसरी जोगाउने भन्नेमा हामी लोक संस्कृतिकर्मीहरूको ध्यानाकर्षण हुने गर्छ र अगाडि बढ्नलाई थप मद्दत पुर्‍याउँछ ।

नेपाली मौलिक कल्चर नृत्य र विभिन्न देशका कल्चर नृत्यलाई तुलना गर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?
हाम्रो कल्चर र विदेशी कल्चरमा धेरै नै फरक छ । पहिलो कुरा भूगोल फरक छ, रहनसहन फरक छ, खानपिन फरक छ । त्यसकारण हाम्रो नेपाली कल्चर सानो देश भए पनि विश्वमै धनी छौँ । हाम्रा हरेक जातका फरक-फरक कल्चर छन् । हाम्रो भाषा फरक छ । हिमालदेखि पहाड र तराईसम्म फरक-फरक कल्चर नृत्यहरू छन् । पूर्वदेखि पश्चिमसम्मको फरक छ । नेपालमा यति धेरै छ कल्चरल जुन हामीले सिक्न खोज्यौँ भने सिक्न नसकिने छ । अन्य देशमा यति धेरै कल्चर छैन । तर, उनीहरूको प्रस्तुति, तयारी, कलेक्सन, खोज अनुसन्धान, लिपि, म्युजियममा अगाडि छन् । जुन हामीले उनीहरूसँग सिक्नुपर्ने कुराहरू छन् । मैले आफूलाई तुलना गर्दा पनि त्यही नै पाउँछु । जुन मैले सिक्न र काम गर्न अझै धेरै बाँकी छ ।

हामीकहाँ भएका नृत्यका बारेमा केही बताइदिनुहोस् न ?
नेपालमा धेरै प्रकारका नृत्यहरू छन् । एउटा त परापूर्वकालदेखि चल्दै आएका ऐतिहासिक पौराणिक शास्त्रीय नृत्यहरू छन् । अर्को विभिन्न जातजातिहरूले आफ्नो चाडपर्व र मेलाहरूमा देखाइने लोक संस्कृति झल्कने लोकनृत्यहरू । त्यसैगरी कथा गीत वा भावबाट सिर्जना भएका गीतमा नाचिने नृत्यहरू ।

यो क्षेत्रलाई अझ समृद्ध गर्न कस्तो सुझाव दिनुहुन्छ ?
पहिला त हामी व्यक्ति-व्यक्तिबाट नै आफू सुधार हुन आवश्यक छ । समयको महत्वलाई बुझ्नुपर्छ भने बाँकी जुन-जुन संघ, संस्था अथवा सरकारी निकायले पनि यो क्षेत्रलाई समयअनुसार परिवर्तन गरी हरेक क्षेत्रमा सुधार गरेर अघि बढ्न आवश्यक छ । त्यही पुरानो शैली, पुरानै विचारमा चलियो भने हामी पछि पर्छौं । संस्कृति, मौलिकपन, भेषभूषा पहिलेदेखि जे चलिआएको छ । त्यसरी नै विधि पुर्‍याएर चल्नुपर्छ । तर, काम गर्ने तरिकामा केही फरकपन र नयाँ हुनुपर्छ । जुन अहिलेको युवा पुस्ताले अँगाल्न सकोस् ।

यो क्षेत्रका कमी कमजोरी के-कस्ता रहेका छन् ?
अहिले पनि हामी समयअनुसार हिँड्न सकेका छैनौँ । दिएको समयभन्दा झण्डै एक-दुई घण्टा ढिलो चल्ने बानी छ । अर्को कार्यक्रमभन्दा आसन ग्रहणमै एक-दुई घण्टा बिताइदिन्छौँ । मन्तव्यलाई बढी महत्व दिन्छौँ । बाँकी भनेको त प्रोफेसनालिजमको महत्वको बुझाइमा कमी । कार्यक्रमको पूर्वतयारी नहुनु, आफ्नो पेशालाई व्यावसायिकरूपमा अगाडि बढाउन नसक्नु, साधना र निरन्तरता दिन नसक्नु र एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्न नसक्नु कमजोरी जस्तो लाग्छ मलाई ।

राज्यले के गरोस् जस्तो लाग्छ यो क्षेत्रको अझ विस्तार र विकासका लागि ?
अहिले केन्द्रमा रहेको अधिकारलाई स्थानीयमा पुर्‍याए जस्तै हाम्रो कला संस्कृतिलाई पनि विद्यालयस्तर हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ । हाम्रा हराएर जान लागेका वा लोप हुन लागेका कला संस्कृतिको लिपि र अध्ययनको विषय बनाएर संरक्षणका लागि सातवटै प्रदेशमा संगीत, नाट्य, नृत्य विभाग गठन गरी यसको कार्य गर्नुपर्दछ । यस्तै, सबै जाति, धर्म संस्कृति, परम्परालाई नारामा मात्र होइन कि व्यवहार मिलाएर ठूला-ठूला सांस्कृतिक महोत्सव गर्नुपर्छ । हामीकहाँ रहेको फरक-फरक धर्म, संस्कृतिलाई हाम्रो सम्पत्ति हो भन्ने अनुभूति राज्यले गर्नुपर्छ ।

यहाँले यो क्षेत्रमा बर्चस्व कायम गर्नुभएको छ भनिन्छ नि ?
यो त मैले कसरी भन्ने र बर्चस्व कायम गरेको छु भनेर । मैले समयलाई चिनेको छु, त्यसैअनुसार सुरुदेखि अहिलेसम्म विभिन्न संघ संस्था, विद्यालय, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा हुने कार्यक्रममा अपडेट भएर काम गरिराखेको छु । मेरो लडाइँ भनेको म आफैंसँगै हो । हरेक पर्फमेन्सपछि फेरि कसरी अपडेट हुने भनेर म आफैंमा चुनौती देख्छु ।

यस क्षेत्रमा एकखालको चर्चा पाइरहँदा यहाँ अझै पनि विद्यालय, कलेजहरूमा नृत्य सिकाउने गर्नुहुन्छ, यहाँको विद्यालय कलेजप्रतिको मोह नघटेको हो ?
म नृत्य विभिन्न क्षेत्रमा सिकाउने गर्दछु । प्रशिक्षण केन्द्र, विद्यालय, कलेज, संघसंस्था, अनाथालय, स्टेज शो र मेला महोत्सवहरूमा । यी सबैलाई समय छुट्याएको छु र समय तालिका बनाएको छु । तीन दशक भयो काम गरेको । मेरो बुझाइ के छ भने जुन कला मसँग छ, त्यो कला नयाँ पुस्ताका विद्यार्थी भाइबहिनीहरूलाई दिन सकियो भने भोलि उनीहरू अध्ययनका सिलसिलामा बाहिर जाँदा त्यहाँ आफ्नो कलालाई देखाउन सक्छन् । नेपाललाई चिनाउन मद्दत गर्छन् । उनीहरू अनुशासित, लगनशील, समयमा पर्फेक्ट हुन्छन् र सिक्नलाई जिज्ञासु हुन्छन् । यसले मलाई पनि थप ऊर्जा प्रदान गर्दछ ।

भर्खरै प्रकाशित

your adv here