17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारपत्रपत्रिकाराष्ट्रिय परिचयपत्र दिन नागरिकलाई रातभर सडकमै सुताउँछ सरकार

राष्ट्रिय परिचयपत्र दिन नागरिकलाई रातभर सडकमै सुताउँछ सरकार

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

६ साउन, काठमाडौं । नारायणहिटी संग्रहालयको पश्चिम गेट छेउको सडकपेटीमा सोमबार साँझ ८ बजे एक हुल युवा गफ गरिरहेका थिए । न उज्यालो छ न बस्न वा अढेस लाग्न सिकिने ठाउँ, ती युवा यहीँ रात कटाउन उभिएका थिए ।

९ बजे ३१, १० बजे ४१, ११ बजे ५६, मध्यरात १२ बजे ७१, एक बजे ८०, २ बजे १२० हुँदै विहान ४ नबज्दै त्यहाँ लाइन लाग्नेको संख्या २०० नाघ्यो । गोरखाको मनकामनाबाट आएका भक्तबहादुर ल्वाङ्गी मगरले मोवाइल फोन बाल्दै बेलुकैदेखि क्रमशः आउनेहरुको नाम टिपेका थिए ।

नाम टिपाएकाहरु पालो मिचिने डरले रातभर लाइनमा डटेर बसेका थिए । भक्तबहादुर तेस्रो पटक आएर साँझबाटै लाइनको लागि नाम टिप्न खटिएका थिए ।

‘श्रीमती चितवनको म गोरखाको, दुवै जिल्लामा पालो पाइने ठेगान भएन’, उनले भने, ‘यहाँ अस्ती विहान ६ बजे र हिजो विहान ४ बजे आउँदा कोटा प्याक भइसकेछ, पालो पाइएन । अनि बेलुका आठै बजे आएको ।’

राहदानी बनाउन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछिको हैरानी हो, यो । भक्तबहादुरको कापीमा नाम टिपाएर सडक पेटीको लाइनमा छिन्, बाँके नेपालगञ्ज उपमहानगरपालिका– ५ सल्यानी बंगलाकी पूजा खत्री पनि ।

बहिनीसंग राति १० बजे नै आएकी उनी फतक्क गलेर पेटीमै थचक्क बसेकी छन् । खत्री दिदीबहिनीसंग बसेकी छन्, महोत्तरीबाट आएकी राधिका दुलाल । राति पौने ९ बजे ट्याक्सीबाट आएर लाइनमा नाम लेखाएकी उनी भुईंमा चप्पल ओछ्याएर टुसुक्क बसेकी छन् ।

डालोमा चाउचाउ, बिस्कुट, पराग, चुरोट, पानीको कार्टुन र तीन वटा थर्मश बोकेर आधा रातमा सामाखुसीबाट आएका अमृत खड्का दम्पती ब्यापारसंगै सल्लाह–सुझाव दिन पनि भ्याइरहेका थिए ।

‘ढुक्कसंग लाइनमा बसौं, बिहान ६ बजे भित्र छिराउँछन् । परिचयपत्र बनाउने १० बजे कार्यालय खुलेपछि मात्र हो’, खड्काले भने, ‘काम सकिन दिनभरि नै लाग्न सक्छ ।’

हिजोदेखि लाइनमा उभिएर/बसेर निद्राविरुद्ध संघर्ष गरिरहेकाहरु खड्काको कुरा सुनेर निराश बने । सडक पेटीको बार र रुखको फेदमा अडेसिन वा भुइँमा अलि होलोसंग बस्न पाएकाहरु त निदाइ नै रहेका छन् ।

बिजोग गरी उभिएकाहरु पेटीमै ढल्न थालेपछि खड्का आफ्नो डालो भएको ठाउँबाट उठे अनि नारायणहीटीको गेटको कतैबाट केही कार्टुन र स–साना चकटीजस्ता म्याट्रेसहरु झिकेर ल्याए ।

१० जना महिलालाई त्यो बाँड्दै उनले भने, ‘ल यो त बिजोग भयो, अलि राम्ररी बस्नुस् । बिहान भित्र जाने बेलामा फिर्ता गर्नुस्, पर्सि अरुलाई चाहिन्छ ।’

खड्काको सदासयबाट मिलेको अलिकति सहजता धेरैबेर टिकेन, मौसम प्रतिकुल बनिदियो, पानी पर्न थाल्यो । सानो बत्ती धिपधिप बलिरहेको डालो जोगाउन खड्का दम्पतीले प्लाप्टिकको जोहो गरे । लाइनमा बसेकाहरु खैलाबैला गर्दै १५–२० वटा छातामा टाउको लुकाउन पुगे ।

भर्खरै प्रकाशित

your adv here