
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव श्री अमृत बहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट परराष्ट्र तथा सहकार्य राज्यमन्त्री डा. आना इसाबेल जाभियरले नेतृत्व गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपालका राजदूत श्री प्रकाशमणि पौडेलसहित मन्त्रालय र दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गर्दै राजनीतिक, आर्थिक तथा वाणिज्यदूतसम्बन्धी विषयहरूमा विस्तृत छलफल गरेका थिए। साथै, जलवायु परिवर्तन तथा बहुपक्षीय प्रणालीमा सहकार्यलगायत साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान–प्रदान गरिएको थियो।
दुवै देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने सहमति व्यक्त गरेका छन्। बैठकका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायले भोगिरहेका कन्सुलर प्रमाणीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्याहरू समाधान गर्न सहजीकरण गरिदिन पोर्चुगल पक्षलाई अनुरोध गर्नुभएको थियो। पोर्चुगल पक्षले उक्त विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

सो अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगल सरकारले त्यहाँको नेपाली समुदायलाई आत्मीयतापूर्वक समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो। राज्यमन्त्री डा. जाभियरले भने पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
बैठकपछि पोर्चुगली प्रतिनिधिमण्डलका प्रमुखले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए।

दिउँसो परराष्ट्र सचिव राईले पोर्चुगलको व्यापार तथा लगानी प्रवर्द्धन निकाय (AICEP) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गर्नुभएको थियो। सो क्रममा पोर्चुगलको ऊर्जा नीतिबारे प्रस्तुति पनि गरिएको थियो। उहाँले नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा—विशेषगरी जलविद्युत उत्पादन, प्रसारण र वितरण—लगानीका सम्भावना खोज्न AICEP र नेपाल लगानी बोर्डबीच कार्यस्तरीय छलफल गर्न सुझाव दिनुभयो।
यसअघि बिहान परराष्ट्र सचिव राईले पोर्चुगल परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया दि सोउसा रिबेरो टेलेससँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उपायहरूबारे विचार–विमर्श भएको थियो।
भ्रमण सम्पन्न गरी परराष्ट्र सचिव राई आज नेपाल फर्कने कार्यक्रम रहेको छ।
